जुनै खेलाडीको लागि पनि आफ्नो करिअरको अन्त्य गर्नुपर्दाको क्षण सबैभन्दा नमिठो अनुभव हुने गर्दछ । तर पनि हरेक खेलाडीहरुले आफुले सोचेको समयसम्म खेल्नको लागि उमेर वा शारिरिक समस्या बाधा बन्ने गर्दछ ।
प्राय:जसो फुटबल खेलाडीहरु आफ्नो करिअरलाई केही ढिला नै अन्त्य गर्न चाहन्छन् । फुटबलप्रतिको लगाव र मायाले गर्दा उनीहरु सोचेकै समयमा सन्यास लिन सक्दैनन् भने कुनै खेलाडीले फुटबलप्रतिको मोहले गर्दा सन्यास फिर्ता पनि लिने गर्दछन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले त्रिदेशीय फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । पछिल्लो समय राष्ट्रिय टोलीमा पर्न असफल भएका विराजले घरेलु मैदान र दर्शकको अगाडि खेल्दै सन्यास लिएका हुन् ।
सोमबार साझ दशरथ रंगशालामा सम्पन्न थ्री नेशन्स कपकाे फाइनल खेलको दोस्रो हाफको ८९औ मिनेट त्रिदेब गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए । उक्त खेलमा नेपालले बंगलादेशमाथि २-१ गोलको जित निकालेको थियो ।
सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीको यात्रा सुरुवात गरेका विराजले देशका लागि सर्वाधिक ७३ खेल खेलेका छन् । उनी राष्ट्रिय टोलीका सफल कप्तान मध्येका एक हुन् । उनी एन्फा एकेडेमीका उत्पादन समेत हुन् । विराजकै कप्तानीमा नेपालले वि.स २०७२ सालमा बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप जितेको थियो ।
उक्त वर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा पनि विराज कप्तान थिए । त्यो यू २३ को टोली भएपनि सिनियर ३ खेलाडी राख्न पाउने प्रावधान अनुसार विराजले त्यसको कप्तानीको अवसर पाएको थियो । २०७३ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप जित्दा विराज नियमित उपकप्तान थिए । नेपालले सोलिडारिटीको फाइनल उनकै कप्तानीमा खेलेको थियो ।
त्यस्तै विराज घरेलु फुटबलमा पनि सफल खेलाडी हुन् । उनले तीन अलग क्लब थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी र मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग उपाधि जितेका छन् ।
दशरथ रंगशालामा तय विश्व कप छनोट खेल्दै सन्यास लिने उनको योजना भने पूरा हुन सकेन । कोरोना भाइरसको कारण नेपालले विश्वकप छनोटअन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेविरुद्धको दशरथ रंगशालामा हुने भनिएको खेल अन्यत्रै सरेपछि विराजले थ्री नेशन्स कपबाट सन्यास लिने निर्णय गरेका जुन सफल पनि भयो ।
विश्व कप छनोट नहुने भएपछि अखिल नेपाल फुटबल संघ( एन्फा) ले थ्री नेसन्स कप आयोजना गरहेको हो । जसमा विराजले यसैलाई उपयुक्त समय ठानेर व्यवस्थापन र एन्फासँग सुखद विदाईका लागि उनले आग्रह समेत गरेका थिए । त्यहि अनुसार उनलाई राष्ट्रिय टोलीको २३ सदस्य भित्र राखिएको विश्वास गरिएको छ ।
विराजले सामाजिक संजाल फेसबुकमा एक क्याप्सन राख्दै यस्तो खेले
“मैले मेरो राष्ट्रिय टोलिको जर्सी अन्तिम पटक लगाए
अब बास्तबमा यो मेरो जिन्दगीको एउटा अध्याय सकिएको छ । यो सजिलो थिएन विशेष गरि सुरुवाती दिनहरूमा,एन्फा एकेडेमी हुर्किदै गर्दा मेरो एउटा सपना थियो राष्ट्रिय टोलिको जर्सी लगाई देशलाई उपाधी जिताउने धेरै हदसम्म त्यो पनि पूरा गरे जस्तो लाग्छ । देशले तिनवटा उपाधी जित्दा म टोलि को महत्त्वपूर्ण सदस्य तथा कप्तान थिए यसमा मलाई सदैब गर्व महसुस हुन्छ ।
खेलाडी जीवनकालमा धेरै उतारचढाव आए करिब १४ बर्ष राष्ट्रिय टोलि बाट खेल्दै गर्दा समर्थकहरु बाट पाएको माया राष्ट्रिय टोलि को ३ नम्बर जर्सी म जिन्दगीभर कहिले पनि बिर्सने छैन । आज राष्ट्रिय टोलिबाट बिदाई लिदै गर्दा म मेरो सुरुवात देखी को सम्पूर्ण साथिभाईहरुलाई धेरै सम्झिन चाहेको छु । म आज जुन स्थान सम्म आईपुगेर बिदाई लिदै गर्दा मलाई सदैब सपोर्ट गर्ने मेरो आमा-बाबा,दाजुभाइ,दिदिबहिनी साथै सम्पूर्ण परिवारलाई धेरै-धेरै धन्यवाद अनि माया भन्न चाहन्छु ।
एन्फा एकेडमी,एन्फा,मेरा सम्पूर्ण प्रशिक्षक,संकटा क्लब,एनआर्टी क्लब,थ्री-स्टार कलब,मनाङ मर्स्याङ्दी क्लब, साथै मछिन्द्र क्लब प्रती विशेष धन्यवाद साथै हार्दिक आभार प्रकट गर्न चाहन्छु । मलाई माया गर्नु हुने देश तथा बिदेशमा रहनु हुने मेरो सम्पूर्ण समर्थक,सुभचिन्तक,मिडियाकर्मी,खेलकुद प्रेमी,राष्ट्रिय टोलिको सम्पूर्ण खेलाडी, सहकर्मिहरु, प्रशिक्षक, अफिसियलहरुलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु । साथै नेपाली फुटबल अझै धेरै प्रगति र सफलताको कामना गर्दछु।”