नेपालको रैथाने वनस्पति पाती झार नियन्त्रण र अनुसन्धानमा सहयोग पुर्याएबापत अन्तरराष्ट्रिय अवार्डबाट नेपाली वैज्ञानिक सिर्जना महर्जन सम्मानित हुने भएकी छिन् । अमेरिकी राष्ट्रपतिले खाद्य तथा कृषि सुरक्षाका लागि गठन गरेको ७ सदस्यीय विज्ञ सल्लाहकार समिति बिफाड (बोर्ड फर इन्टरनेसनल फुड एन्ड एग्रिकल्चर डेभलपमेन्ट) ले महर्जनलाई बिफाड स्टुडेन्ट अवार्ड–२०२१ दिने निर्णय गरेको हो ।
वनस्पति विभागमा वैज्ञानिक अधिकृतका रूपमा कार्यरत महर्जनले सन् २०२१ मा पातीझारमाथि विद्यावारिधि पूरा गरेकी छिन् ।
झट्ट हेर्दा तीतेपातीजस्तै देखिने यो झार २ मिटरसम्मको अग्लो हुन्छ । खेतबारी, सार्वजनिक स्थान, खुला क्षेत्र जताततै देखिने यो झारबाट निस्कने ‘एलोपेथिक रसायन’ ले माटोको अम्लीयपनालाई फेरबदल गर्छ, जसकारण अन्य बिरुवा उम्रन पाउँदैनन् ।
महर्जनले यही झारको नियन्त्रणका लागि प्रयोग गर्नुपर्ने जैविक उपायबारे अनुसन्धान गरेकी हुन् । झार नियन्त्रणका लागि उनले नेपालमा दुई वटा जैविक उपाय प्रभावकारी हुन सक्ने जनाएकी छन् ।
ढुसी र खबटे किरा प्रयोग गरेर नियन्त्रणमा गर्न सकिने उनको अनुसन्धानले देखाएको छ । ‘जाइगोग्रामा बाइकोलोरटा प्यालिस्टर (लिफ इटिङ बिटल) भनिने एक प्रकारको खबटे किरा र विन्टर रस्ट भनिने ‘पक्सिनिया’ ढुसीको माध्यमबाट झार नियन्त्रण गर्न सकिने अनुसन्धानमा उल्लेख छ ।