एजेन्सी : सन २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनोटमा आफ्नो तेस्रो खेलमा पोर्चुगलले पुनरागमन जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जमवर्गलाई उसकै घरेलु मैदानमा ३-१ गोल अन्तरले पराजित गरेको हो ।
पाहुना टोली पोर्चुलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोसहित ३ जना खेलाडीले गोल गरे । खेलमा सुरुवाती अग्रता भने घरेलु टोली लक्जमवर्गले बनाएको थियो । जारी खेलको ३०औं मिनेटमा गिर्सन रेड्रिगिजले गोल गरि घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

तर पहिलो हाफको खेलको अतिरिक्त समयमा पोर्चुगलका युवा फरवार्ड डिएगो जोटाले गोल गरि पाहुना टोलीलाई खेलमा फर्काए । त्यस्तै दोस्रो हाफको खेलको चौथो मिनेटमै कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गरि पोर्चुगललाई २-१ गोलको अग्रता दिलाए । यो सँग रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल आफ्नो गोल संख्या १०३ पुर्याएका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल कर्ताको दोस्रो स्थानमा छन् । उनी भन्दा अघि इरानका अली दाइ १०९ गोल सहित सर्वाधिक गोल कर्ता हुन ।
त्यस्तै दोस्रो हाफको ७९औं मिनेट पोर्चुगलले पुन गोल गरि खेलमा३-१ गोलको अग्रता बनायो । जाओ पेल्हिनले गोल गरि पाहुना टोलीलाई ३-१ गोल अन्तरको जित दिलाए ।
उक्त जित सँगै पोर्चुगलले दोस्रो जित हात पारेको छ । ३ खेलबाट ७ अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । यता पराजित लक्जमवर्ग भने समान खेलबाट ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।