भारतबाट ल्याइएको दुई ट्रक रासायनिक मल शनिबार धादिङको धुनिबेसी नगरपालिका–६ धार्केमा किसानले खोसेका छन् । राजस्व अनुसन्धान विभागको टोलिले शुक्रबार नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटार ब्यारेकमा राखेको मल शनिबार सशस्त्र प्रहरीकै पहरामा काठमाडौं लैजाने क्रममा किसानले खोसेका हुन् ।
भारतबाट शुक्रबार वीरगन्ज भन्सार हुँदै प्रवेश गरेका ट्रकले गहुँ र सिमेन्टको प्रज्ञापनपत्र लिएका थिए । दुवै ट्रकमा माथि सिमेन्ट र गहुँ राखेर मल छोपिएको थियो, जसलाई भन्सारका अधिकारीले सजिलै पास गरिदिएका थिए ।
काठमाडौंबाट खटिएको राजस्व अनुसन्धान विभागको टोलीले शुक्रबार राति चितवनको मुग्लिन र कुरिनटारबीचको क्षेत्रबाट ट्रक नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार बा६ख ८२०९ र बा६ख ८२१० नम्बरका ट्रकमा ५ सय ५० बोरा मल थियो ।
कुरिनटारबाट बिहान ट्रक हिँडेको चाल पाएपछि कोही व्यक्तिले धादिङको राजमार्ग आसपासका चिनेजानेका व्यक्तिहरूलाई ‘दुईवटा गाडीमा मल आउँदै छ, बाटामा नियन्त्रणमा लिएर मल लैजानू’ भन्ने सूचना दिएका थिए । त्यही क्रममा धार्केमा आएपछि ट्रकमा रहेको मल स्थानीयले खोसेका हुन् । थाक्रे गाउँपालिका–८ का कृष्णहरि थापाले भने, ‘मल आउँदै छ भन्ने खबर फैलिएपछि किसानले ट्रक कब्जा गरेका हुन् ।’
दुवै ट्रकमा केही सशस्त्र प्रहरी भए पनि स्थानीयको संख्या धेरै भएकाले उनीहरूले मल जोगाउन सकेनन् । नजिकै रहेका प्रहरी आइपुग्दासम्म किसानले करिब ४ सय बोरा लगिसकेका थिए । खानीखोलाबाट आएको प्रहरीले लाठीचार्ज गरेपछि किसान तितरबितर भएका थिए ।
मल लिएर आएका दुईवटै ट्रक धादिङबेंसीस्थित दुवाडी एग्रोभेटका सञ्चालक बोधनाथ दुवाडीको भएको खुलेको छ ।
यसरी तस्करले भन्सार नाकाबाटै पास गराएर ल्याउँदा सरकारले भने मल ल्याउन सकेको छैन । यतिबेला बारीमा लगाइएको मकै मल हालेर गोड्ने बेला भएको छ । मल अभावमा चैते धान सुध्रन सकेन भने मंसिरे धान लगाउने समय भएको छ । ‘बजारमा बोराको ९ सय रुपैयाँ पर्ने मललाई २२ सय भन्छन्, त्यो पनि किन्न पाइँदैन,’ थाक्रेका किसान थापाले भने, ‘खेती लगाउने र भित्र्याउने बेला जहिल्यै मल अभाव हुने गर्छ ।’
धादिङकै सिद्धलेक गाउँपालिका– ५ की ज्ञानु घलेले मकै र धानमा मल हाल्ने बेला भए पनि मल नपाएको बताइन् । ‘मल नहाली खेती सप्रिँदैन,’ उनले भनिन्, ‘खेती लगाउने बेला होस् या सप्रने बेला हामीलाई जहिल्यै मलको जोहो गर्ने पिरलो हुन्छ ।’ धादिङमा मात्र होइन, सरकारी बेवास्ताले खेतीका बेला देशैभर मलको हाहाकार हुने गरेको छ ।