असार ७, २०७९ मंगलबार

प्रधानसेनापति प्रभुराम शर्मा लेवनानको भ्रमणमा छन् । उनले युनिफिल मिसन लेवनानमा तैनाथ नेपाली बटालियनको हेडक्वाटरको भ्रमण गरेका छन् । सोमबार उनले सो हेडक्वाटरमा तैनाथ नेपाली शान्ति सैनिकलाई सम्बोधनसमेत गरेका छन् । 

सो अवसरमा उनले शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्याएका दुई जना नेपाली शान्ति सैनिक र लामो समयदेखि लेवनानमा नेपाली सेना तथा नेपाली नागरिकहरूलाई सहयोग गरेका तीन जना लेवनानी नागरिकलाई उनीहरूले पु¥याएको योगदानको कदर स्वरूप ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेका छन् ।


प्रधानसेनापति शर्मासहित भ्रमण दलका सदस्यहरूले सोमबार नै युनिफिल हेडक्वाटरको समेत भ्रमण गरेका छन् । सो अवसरमा प्रधानसेनापति शर्माले युनिफिल मिसन लेवनानका ‘हेड अफ मिसन’ मेजर जनरल अरोलोडो लाजारो सेन्जसँग शिष्टाचार भेट गरे ।


भेटका अवसरमा मेजर जनरल अरोलोडोले लेवनानमा शान्ति स्थापनाका लागि युनिफिल मिसनमा स्थापनाकालदेखि नै नेपालको निरन्तर सहभागिता तथा व्यावसायिकताको खुलेर प्रशंसा गरेका थिए ।

सो अवसरमा प्रधानसेनापति शर्माले दक्षिण लेवनानमा शान्ति स्थापनाको लागि युनिफिलको म्यान्डेट अनुरुप कार्यसम्पादन गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको र युनिफिलमा नेपाली सेनाको निरन्तर सहभागिताको प्रतिवद्धतासमेत जनाए ।

प्रधानसेनापति शर्माको सम्मानमा युनिफिल फोर्स हेडक्वाटरको एक टुकडीले सम्मान गारतसमेत अर्पण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ ।