बैशाख ३१, २०८३ बिहिबार

काठमाडौँ, ३१ वैशाखः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति नलिई विदेशमा श्रम गर्न पुगेका नेपाली श्रमिकको पनि मृत्य भएको खण्डमा शव स्वदेश ल्याउने व्यवस्था मिलाउने भएको छ ।

    यसअघि मन्त्रालयले वैदेशिक रोजगारबाट श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको हकमा मात्रै मृत्यु भएमा शव स्वदेश ल्याउने नीति रहेको थियो । मन्त्रालयमा आज बसेको मन्त्रीस्तरीय विकास समस्या समाधान समिति बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले उक्त व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । 

    उहाँका अनुसार वैदेशिक रोजागरमा श्रम स्वीकृति नलिई जानेको सङ्ख्या धेरै रहेको  र त्यहाँ मृत्युसमेत हुने हुँदा उद्धार गर्ने अवस्था नभएको गुनासो आउने गरेको छ । यसले नेपाली नागरिकको समस्या समाधान गर्न मन्त्रालयले सरल नीति ल्याउनुपर्ने उहाँको धारणा थियो । यसैअनुरूप मृत्यु भइसकेको  खण्डमा श्रम स्वीकृतिको कागज नभएर शव विदेशमै अलपत्र पर्नुपर्ने स्थिति हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “मृत्यु भइसकेपछि श्रम स्वीकृतिको कागज कुरेर बस्ने होइन, राज्यले जिम्मेवारी लिनैपर्छ ।”

    कार्यक्रममा उहाँले वैदेशिक रोजगारलाई बाध्यता नभइ विकल्पका रूपमा अपनाउने परिस्थिति सिर्जना गर्न आन्तरिक रोजगार प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । साथै, मन्त्रालयको आगामी आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक समीक्षा कार्यक्रममा मन्त्री यादवले पुँजीगत खर्च बढाउन र जनतामुखी सेवामा जोड दिन विभाग र मातहतका निकाय प्रमुखलाई निर्देशन दिनुभयो ।

    बैठकमा सचिव डा दिपक काफ्लेले सरकारको गतिअनुसार कर्मचारीले आफ्नो रफ्तार बढाउन आग्रह गर्नुभयो । बैठकमा सहभागी राष्ट्रिय योजना आयोगका सदस्य डा पुकार मल्लले समस्याभन्दा पनि समाधानसहितको कार्ययोजना बनाउन सुझाव दिनुभयो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयको तेस्रो त्रैमासिक समीक्षा प्रस्तुत गर्नुभएको थियो ।