असार ८, २०७९ बुधबार

काठमाडौँ — व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन काठमाडौँ जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ । न्यूज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेको हो ।

न्यायाधीश वकिलबीचको संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ बजे न्यायापरिषद्को बैठक बोलाएका छन् ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई मनाउन खोजेका छन् । त्यसमा न्यायाधीश कोइरालाले आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् । अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौँ जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् । १० मिनेटको अडियोमा न्यायाधीश कोइरालाले माथिबाट सेटिङ मिलेको अवस्थामा भनेजस्तै आदेश गर्न तयार रहेको कुरा गरेका छन् । न्यायाधीश कोइराला तयार भएको जस्तो देखिएछि अधिवक्ता पोखरेलले प्रधानन्यायाधीस हुँदै काठमाडौं जिल्लाका 'एक नम्बर' न्यायाधीशलाई 'चिया समय' सम्म सबै जानकारी आइसक्ने र आफूलाई यसबापत प्राप्त हुने रकम बुझिसक्ने कुराकानी गरेको अडियोमा सुनिन्छ ।


घुसको डिल गर्ने अधिवक्ता पोखरेल एमालेको कानुन विभाग सदस्यसमेत हुन् । उनलाई उच्च अदालत पाटन बारले आगामी २५ गते हुने चुनावका लागि संयोजक तोकेको थियो ।

अडियो सार्वजनिक भएपछि पोखरेलले निर्वाचन कमिटीको संयोजकबाट राजीनामा दिएको पाटन उच्च अदालत बार एसोसिएसनका अध्यक्ष रामचन्द्र सिम्खडाले जानकारी दिए ।