चीन सरकारले नेपालसँग समन्वय नगरी गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा एकलौटी रूपमा तारबार लगाएको छ । उसले सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने कुनै पनि मापदण्ड पालना नगरी तारबार लगाएको हो । यस विषयमा न परराष्ट्र मन्त्रालय जानकार छ, नत जिल्ला प्रशासन कार्यालय नै।
गोरखाका प्रमुख जिल्ला अधिकार शंकरहरि आचार्य यस विषयमा प्रशासनलाई कुनै जानकारी नै नरहेको बताउँछन् । परराष्ट्र मन्त्रालयकी सहप्रवक्ता रीता धिताल दशगजा क्षेत्र छाडेर तारबार वा अन्य संरचना निर्माण गर्न पाउने व्यवस्था भएकाले चीनले त्यसै गरेको हुनुपर्ने बताउँछिन्।
चीनले दशगजा क्षेत्रमा नै तारबार लगाएपछि नेपाल–चीन आवतजावत पनि बन्द रहेको स्थानीय छिरिङ लामा बताउँछन्। तार लगाएकै तीन वर्ष भएको उनको भनाइ छ। यताको आफन्त उता पनि छन्। उताका इष्टमित्र यता पनि छन्। सीमाना बन्द भएपछि बुढाबूढीहरू आफन्त भेट्न नपाएर चिन्ता गरिरहेका छन्।
सीमानाका नै तारबारले बन्द गरिदिएपछि अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको स्थानीयको गुनासो छ। चीनले तारबार गरेर गेटमा ताल्चा लगाएको स्थानीयले बताएका छन्।