काठमाडौं ; सहारा क्लब पोखराको आयोजनामा आगामी शनिबारबाट सुरु हुने १९औं संस्कणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहार फुटबल क्लब र शस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
कुल ८ टोलीको सहभागिता रहेको यस प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिगको विजेता क्लब मछिन्द्रसहित आयोजक र एक विदेशी टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) रहेका छन् । प्रतियोगिताको दोस्रो दिन आइतबार मछिन्द्र र एआरएबीच प्रतिस्पर्धा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
आगामी चैत २३ गते संकटा र नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब र चैत २४ गते रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । १९ औं सस्करणलाई सहारा क्लबले पोखराका प्रतिष्ठित उद्योगपती तथा राजनितिककर्मी स्व सूर्य बहादुर केसीको स्मरणमा विशेष बनाउने जनाएको छ । पोखराको फुटबल विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनको संस्मरणमा विद्यागत पुरस्कारमा १० हजार रुपैयाँले बृद्धि गरिएको बताइएको छ । जस अनुसार सुर्यबहादुर के। सी। मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर , मिडफिल्डर , वेष्ट स्ट्राइकर र प्रशिक्षक अवार्ड रहेका छन् । सबैले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
विगतमा जस्तै एक जना राष्ट्रिय खेलाडीलाई क्लबले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी घोषणा गर्दै ३५ हजार रुपैयाँबाट सम्मान गर्नेछ । त्यो पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्नेछन् । त्यस्तै यस प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार र दोस्रो टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
