एजेन्सी : इटालियन सिरी ए फुटबल क्लब युभेन्टसका २ खेलाडी लियोनार्दो बोनुकी र मेरिह डेमिरललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
क्लबले आफ्ना डिफेन्डरद्वय बोनुकी र डेमिरललाई कोरोना सङ्क्रमण भएको जनाएको छ । इटालियन राष्ट्रिय टोलीबाट फर्किएका बोनुकीलाई कोरोना सङ्क्रमण भएपछि उनी सेल्फ आइसोलेसनमा बसेका छन् । बिहीबार उनी अन्तर्राष्ट्रिय खेल सकेर युभेन्टस फर्किएका थिए । इटालियन फुटबल महासङ्घले चार सदस्यलाई कोभिड–१९ भएको घोषण गरेपछि उनको टेस्ट भएको थियो । जसमा उनको रिपोर्ट पोजिटिभ आएको हो ।
अब उनले १० दिन आइसोलेसनमा बिताउनेछन् । जसमा उनले सिरी ‘ए’अन्तर्गत टोरिनो, नापोली र जेनोआसँगको खेल गुमाउनेछन् ।
यता, डेमिरललाई पनि बिहीबार नै कोभिड सङ्क्रमण पुष्टि भएको हो । उनी पनि टर्कीबाट फर्किएपछि कोभिड सङ्क्रमित बनेका हुन् ।