एजेन्सी : इटालियन सिरी ए फुटबल क्लब युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डेबालाले कोरोना भाइरससम्बन्धी नियम तोडेकोमा माफी मागेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् डेबालाले माफी मागेका हुन् ।
इटालियन स्वास्थ मापदण्डविपरीत कार्य गरेको भन्दै डेबालासहित युभेन्टसका तीन खेलाडीलाई जरिवाना तिराएको थियो । कोरोना भाइरसको दोस्रो चरणको लहर सुरु भएको अवस्थामा स्वास्थ्य मापदण्डविपरीत पार्टीमा सहभागी भएपछि पाउलो डेबाला, अर्थर मेलो र वेस्टन एमसीकेनीलाई जरिवाना गरिएको हो ।
गत बुधबार राति स्वास्थ्य सुरक्षा मापदण्ड लत्याउँदै उनीहरूले पार्टीमा सहभागी भएका थिए । टुरिन नजिकै एमसीकेनीको घरमा आयोजित पार्टीमा १० देखि २० जनाको सहभागिता थियो । एमसीकेनीका परिवारका सदस्यका साथै डेबाला र अर्थर पनि पार्टीमा थिए ।
स्वास्थ्य मापदण्डविपरीत कार्य गरेपछि आलोचित डेबालाले आफू गलत भएको भन्दै माफी मागेका हुन् ।
इन्स्टाग्राममा उनले लेखेका छन् । ‘मलाई थाहा छ कि कोभिड–१९ का कारण विश्व अहिले कठिन परिस्थितिमा छ । हामीले यस्तो नगरेको भए हुन्थ्यो । बाहिर बस्ने र खाने काम मैले गलत गरेँ । यद्यपि, त्यो पार्टी थिएन । त्यै पनि म गलत छु, म क्षमा चाहन्छु ।’,