चैत २०, २०७७ शुक्रबार

 

काठमाण्डौ।  एएफसी कप २०२१ अन्तर्गत दक्षिण एसिया प्रारम्भिक छनोटको प्लेअफमा त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोर्टस क्लबको सामना गर्दैछ ।

दशरथ रंगशालामा हुने खेल आगामी चैत्र २५ गते हुनेछ । आज नेपाल आर्मी क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै खेलको लागि टिकट दर तय गरेको छ । साधारण तर्फ ३ सय रुपैयाँ र भीआइपी तर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ । खेल दिउँसो ३ बजे हुनेछ ।

आर्मीले हाल टोलीका सम्पूर्ण खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । मोफसलमा भने आर्मीले आफ्नो दोस्रो टोलीलाई पठाएको छ । बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट २३ खेलाडी अन्तिम छनोटमा पर्नेछन् । राष्ट्रिय टोलीमा रहेका गोलरक्षक विकेश कुथु र फरवार्ड भरत खवास टोलीमा फर्किसकेका छन् ।  आर्मीले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि लिग च्याम्पियन मछिन्द्रको स्थानमा एएफसी कप खेल्न पाएको हो ।