चैत २०, २०७७ शुक्रबार

 

काठमाडौं ।  पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फको आजको तेस्रो तथा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले  हार व्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा शुक्रबार भएको खेलमा बुलबुले रारा क्लबसँग ३-१ को सेटमा पराजित हुँदै आर्मीले पहिलो हार व्यहोरेको हो ।

रोमान्चक बनेको खेलमा पहिलो सेट २५-२० ले आफ्नो बनाएपनि त्यसपछिको सेट आर्मीले लगातार गुमाएको थियो । बुलबुलेले आर्मीमाथि दोस्रो सेट २५-२१, तेस्रो सेट २५-१९ र चौंथो सेट २५-२३ ले जितेको थियो ।

जितसँगै बुलबुलेले २ खेलमा ३ अंक जोडेको छ । पाकिस्तानी खेलाडी आबद्द बुलबुले पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो ।

आर्मीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई हराएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।