संयुक्त राज्य अमेरिकाले नेपालका प्रधानसेनापति र उच्च अमेरिकी अधिकारीहरूसँगको भेटमा दुई देशबीचको गहिरो सैनिक सम्बन्धलाई थप अघि बढाउने विषयमा छलफल भएको जनाएको छ।
आफ्नो औपचारिक अमेरिका भ्रमणका क्रममा प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी जोइन्ट चिफ अफ स्टाफका भाइस चेअरमेन एडमिरल क्रिस्टोफर डब्ल्यू ग्राडी, दक्षिण एशिया तथा दक्षिण पूर्वी एशिया हेर्ने अमेरिकी रक्षा उपमन्त्री लिन्ड्जे डब्ल्यू फोर्ड र अमेरिकी सेनाका चिफ अफ द स्टाफ जेम्स चार्ल्स मकोनभिलसँग बिहिवार भेटवार्ता गरेका थिए।
ती भेटवार्ताबारे काठमाण्डूस्थित अमेरिकी दूतावासका अधिकारीले भनेका छन्, "उक्त छलफलहरू हाम्रा सेनाहरूबीचको लामो समयदेखिको सम्बन्ध तथा नेपाल र अमेरिकाले दुई देशका सैनिकको तह, मानवीय सहयोग तथा विपद् प्रतिकार्य र राष्ट्रसङ्घीय शान्ति कार्य जस्ता क्षेत्रमा मिलेर काम गर्नसक्ने उपायका बारेमा केन्द्रित रह्यो। जेनरल शर्मा प्रधानसेनापतिमा नियुक्त भएपछि उहाँलाई पहिलो पटक अमेरिकामा स्वागत गरिएको हो।"
नेपाली सेनाले ती भेटघाटका क्रममा "नेपाल र मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक हितका विषयहरूमा छलफल तथा विचार विमर्श भएको" जनाएको थियो।