काठमाडौँ : सोमबार बिहान करिब ११ बजे दुबईबाट काठमाडौँ आएका सुमन दमाईको लगेज जाँच गर्ने क्रममा नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाइछिपाइ राखिएको ६० वटा सुनका रिङ फेला परेको छ । सुनको तौल करिब १२५ ग्राम रहेको छ।
फेला पारेको सुन स्टील बटनको भित्रि भागमा फिट गरी राखिएको र झट्ट हेर्दा फलामको टुक्राजस्तै देखिने किसिमको रहेको छ।
सुनसहित दमाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको भन्सार कार्यालयले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका दमाईले आफू भिजिट भिषामा दुबई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाका लागि उपहारका रूपमा उक्त पोशाकहरू नेपालसम्म पुर्याइदिन अनुरोध गरेको हुँदा ल्याइदिएको बताएका छन्।
सामान्यत: एउटा धातुभित्र अर्को धातु लुकाइछिपाइ ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भनेर नै योजनावद्ध ढङ्गबाट बटनभित्र सुनलाई फिट गरी पठाइएको हुनसक्ने भन्सार कार्यालयले अनुमान गरेको छ। सुन तस्करीमा नियन्त्रणमा रहेका यात्रु सुमनको संलग्नता छ वा अन्य कुनै व्यक्तिको पनि भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने कार्यालयले जनाएको छ।
भन्सार कार्यालयले अपरिचित व्यक्तिको सामानभित्र लुकाइछिपाइ सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको छ वा छैन सुनिश्चित नभएसम्म नल्याउन अनुरोध गरेको छ।
सुनको अवैध तस्कर गर्ने समूह वा व्यक्तिले नयाँ तरिका अपनाउने क्रम जारी रहेपछि भन्सार कार्यालयले पनि आयात हुने मालवस्तुको निरीक्षण गर्ने शैली तथा रणनीतिलाई परिस्कृत गर्नुको साथै कर्मचारीको प्राविधिक क्षमतालाई पनि विस्तार गर्दै गइरहेको जनाइएको छ।