असार २०, २०७९ सोमबार

जागिर खोज्दै भौँतारिएका युवाहरूलाई लक्षित गरेर आगामी बुधबार र बिहीबार भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा ‘रोजगार मेला’ हुँदै छ। 

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाले रोजगारको खोजीमा रहेका युवालाई लक्षित गरेर रोजगार दाता, सरोकारवाला निकाय, संघ, संस्थाहरूसँगको समन्वयमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ गर्न लागेका हुन्।

युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार भरतपुरमा मेला आयोजना गरिएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए। 

मेलाका लागि चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ चितवन, चितवन चेम्बर अफ कमर्स, होटल व्यवसायी महासंघ नेपाल लगायतका १ दर्जन संघ संस्थाले सहयोग गरेका छन्। 

यो मेला जिल्लामा न्यून र मध्यमस्तरको रोजगारी सिर्जना गर्न वा पुग्ने विश्वास आयोजकको छ।

सुवेदीले यस्तो मेला स्थानीय तहले देशमै पहिलो पटक गर्न लागेको दाबी गरे।

मेलामा संकलन गरिएको तथ्यांकलाई अनलाइनबाट जानकारी लिन मिल्ने गरी राख्ने र रोजगार एप सुरू गर्ने महानगरको लक्ष्य छ। 

जिल्लाका ७ वटै स्थानीय तह, जब लिंक तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रहरूको स्टल उक्त मेलामा रहनेछ।