असार २२, २०७९ बुधबार

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडामा आज बिहान एउटा हात्ती मृत फेला परेको स्थानीय बासिन्दाले बताएका छन्।

हात्ती खेतमा मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। हात्ती के कारणले मरेको भन्ने खुलिसकेको छैन। हात्तीका दाह्रा, पुच्छर, खुर लगायतका सुरक्षित छ। हात्तीको शरिरमा कुनै चोट देखिएको छैन।

यो हात्ती भारतीय क्षेत्रबाट नेपाल आएको अनुमान छ। भारतीय क्षेत्रमा वर्षाका कारण डुबान हुँदा नेपालमा हात्ती आउने गर्छन्।

भारतबाट नेपाल पसेका हात्तीको समूहबाटै यो हात्ती छुटेको हुन सक्ने अनुमान छ।

जिल्ला वन कार्यालय, प्रहरी र पशु प्राविधिकको टोली हात्ती मृत भेटिएको क्षेत्रतर्फ गएका छन्।