दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा बनाइएको माओवादी लडाकुको ब्यारेकमा कुनै बेला करिब तीन हजार जनमुक्ति सेना परेड खेल्थे । महिला सामुदायिक वनको करिव १६ हेक्टर क्षेत्रफलमा फैलिएको ब्यारेकमा रहेका सेनामध्ये केही सेना समायोजनअन्तर्गत नेपाली सेनामा गए, केही अयोग्य ठहरिए भने अधिकांशले स्वेच्छिक अवकाश लिइ घर फर्किए । निर्माण भएको करिब ६ वर्षमै यो ब्यारेक रित्तो भयो ।
०७५ फागुनदेखि सशस्त्र प्रहरीले पनि संरक्षण गर्न छाडिदिएपछि तत्कालीन जनमुक्ति सेनाको ब्यारेक खण्डहर बनेको छ ।
स्थानीय विभीषण रोका भन्छन्, ‘तत्कालीन माओवादी लडाकुको ब्यारेक अहिले बेहाल अवस्थामा छ । यसको संरक्षणमा न सरकारलाई चासो छ, न माओवादीलाई ।’
प्रवेशद्वारमा काठको कलात्मक तर जीर्ण गेट छ । प्रवेशद्वारभित्र कतै टिन, कतै ढुंगामाटोको घरहरू देखिन्छन्, जसको अवस्थामा नाजुक छ । केही घर त भत्किसकेका छन् । केही भत्किने अवस्थामा छन । कुनै घरको छानो छ, भित्ता छैन भने कुनैको भित्ता छ, छानो छैन ।