सिभिल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच हिजाे हुने भनिएको मर्जर सम्झौता टुटेको छ । यसअघि पनि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडको मर्जर प्रकृया टुटेको थियो ।
हिमालयन बैंक लिमिटेडको पौष ३० गते, शुक्रबार बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा भएको उनन्तीसौँ वार्षिक साधारण सभाले मर्जरको विशेष प्रस्ताव अस्विकृत गरेको थियो । सभामा शेयरधनीहरूबीच मर्जरका विषयमा विवाद भएपछि मर्जरको प्रस्ताव अस्विकृत गरिएको थियो ।
त्यसपश्चात् राष्ट्र बैंकले हिमालयन बैंकलाई विभिन्न कारबाही गर्दै एक वर्षभित्र अर्को संस्था खोजेर मर्जर गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार हिमालयन बैंक सिभिल बैंकसँग मर्जरमा जान लागेको थियो । आज १ बजे राजधानीको एक होटलमा हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) हुने तय भएको थियो ।
तर हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले सिभिल बैंकलाई दिने सेयर आदानप्रदान अनुपातमा कुरा नमिल्दा आज सम्झौता नहुने भएको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्रतिकित्ता ८१ रुपैयाँका दरले गाभ्ने सहमति भएको थियो । सोही सहमति अनुसार मर्जरका लागि सम्झौता गर्न मिति र समय तोकिएको थियो।
यस बीचमा हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले कर्मचारी सञ्चय कोषलाई प्रयोग गरेर मर्जर भाँडेका बैंकका एक सञ्चालकले बताए । सञ्चय कोषले ८१ रुपैयाँको मूल्य अहिले दिन नसकिने र सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) पछि जति तय हुन्छ त्यति दिने भनेको ती सञ्चालकले बताए ।