सिद्धार्थनगर (भैरहवा), १ जेठ : लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीलाई २०८३ साल वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरी पुरस्कृत गरेको छ ।
प्रदेश प्रहरी कार्यालयले सङ्गठनात्मक नीति निर्देशनबमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई व्यावसायिक ढङ्गले निर्वाह गरेको भन्दै जिसीलाई उक्त सम्मान प्रदान गरेको हो ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ पानडाँडाका ४४ वर्षीय पदमबहादुर केसीको गोली लागेर मृत्यु भएको घटनाको सफल अनुसन्धान तथा दोषीलाई कानुनी दायरामा ल्याउन जिसीले नेतृत्वदायी भूमिका निर्वाह गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
मकैबारी जोगाउन बाँदर लखेट्न जाँदा केसीमाथि गोली प्रहार भई मृत्यु भएको घटनाको अनुसन्धानमा प्रभावकारी भूमिका खेलेको भन्दै प्रदेश प्रहरी कार्यालयले जिसीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट सम्मानित गरेको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले जिसीलाई पुरस्कार प्रदान गर्नुभएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिनुभयो ।