चैत २२, २०७७ आइतबार

 

काठमाण्डौ। विभागीय टिम नेपाल पुलिस क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ आज भएका आ-आफ्नो खेलमा जित निकालेका छन् ।

आइतबार भएको पहिलो खेलमा हेल्प नेपालले लगातार तेस्रो जित निकाल्न सफल भयो ।हेल्पले बुलबुले रारा क्लबलाई ३-१ को सेटमा हराएर तेस्रो जित निकालेको छ ।हेल्पले बुलबुलेलाई २१-२५, २५-१८, २६-२४ र २५-२१ ले पराजित गरेको हो ।

 आज नै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्यो ।उपाधि दाबेदार पुलिसले मणिमुकुन्दमाथि २५-१८, २५-१९ र २५-११ को सेटमा जित निकालेको हो ।

आइतबार नै भएको अन्तिम खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सेटमा हराउँदै आर्मीले दोस्रो जित निकालेको हो ।आर्मीले नयाँ बजारमाथि २५-१०,२५-१४ र २५-१४ को सेटमा जित निकालेको हो ।जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । नयाँ बजारले अंक जोड्न सकेको छैन ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।

महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छन्।