साउन ४, २०७९ बुधबार

यतिबेला हरेक साता अस्ट्रेलियाका विभिन्न शहरमा कुनै न कुनै कार्यक्रम भइरहेका हुन्छन् । कहिले सातामै दुई–तीन वटासम्म सांगीतिक माहोल चल्छन्।

महोत्सव होस् वा मेला या कुनै भेला सबैमा नेपालबाट कलाकार बोलाउने प्रचलन बढ्दो छ।

पछिल्ला दिनमा देखिएको कार्यक्रमको बढोत्तरी र आयोजकको मनपरिले सिड्नीमा हुने सांगीतिक कार्यक्रमका बारेमा केही नकारात्मक टिप्पणी आइरहेका छन्।

नेपाली कार्यक्रममा राम्रै उपस्थिति देखिने सिड्नीको नेपाली समाजमा यतिखेर कार्यक्रमहरू बढे पनि सहभागिता भने न्यून छ।

फिल्म होस् या साहित्यिक महोत्सव या जात्रा किन नहोस्, सबैले पालो पाएकै छन् यहाँ।

पहिले पहिले शुल्क लाग्दा पनि भीड हुने सिड्नीमा अहिले नि:शुल्क कार्यक्रमहरू हुँदा पनि खाली हल र चउरहरूले कार्यक्रमहरू आवश्यकभन्दा बढी भएको हो कि भन्ने भान परेको छ।

यसरी हप्तैपिच्छे हुने यस्ता कार्यक्रममा केही राम्रा उद्देश्यका लागि हुन्छन् भने कोही हाम्राका लागि हुन थालेका छन्। केही कार्यक्रम रमाउन गरिएको हुन्छ भने केही कार्यक्रम नितान्त कमाउनकै लागि गरिएका हुन्छन्। 

फेसबुकमा प्रचार गर्ने, नेपालबाट कलाकार मगाउने विमानस्थलमा प्रायोजकको बोर्ड राखेर यसो खादा लाउने फेसबुक लाइभ गर्ने अनि कार्यक्रम सकिएपछि काम तमाम! 

विमानस्थलमा हप्तैपिच्छे नेपाली कलाकारको स्वागतमा गरिने यस्ता नाटक मञ्चनले अन्य यात्रुलाई बाधा पुर्‍याएको जस्तो भान हुन्छ। ब्यानर र प्रायोजकको घेरामा विमानस्थल नै आफ्नै झैँ गरि हुने भद्दा स्वागतले यसको गरिमा पक्कै बढाएको छैन। 

कार्यक्रम आयोजना हुँदै गर्दा केहीले नेपालको परिचय र शोभा बढाएका पनि छन् तर केही कार्यक्रमले भने बदनामी कमाएका छन्। 

केही समय अगाडि रकडेलको एक कार्यक्रममा मैदानको फोहोर नउठाएको भन्दै आयोजकले काउन्सिलको जरीवाना तिर्नुपरेको थियो। नेपालीको त्यो बदनामीका समाचार अस्ट्रेलियाभरि  छायो।

यतातिर कार्यक्रमको रूपरेखाभन्दा पहिला फेसबुकमा प्रायोजक र भिसा पार्टनर अनि कलाकारको फोटो सहितका पोष्टर देख्न र पढ्न पाइन्छ। भिसा लाग्नुअघि नै प्रचार प्रसार जोडतोडले सुरू हुन्छ। 

अनि त्यसपछि भिसा लाग्यो भन्ने फोटोसहितको अर्को पोष्टर सार्वजनिक हुन्छ अनि बल्ल विमानस्थलको स्वागत। तर, धेरैको स्वागत गरिहँदा केहीबाहेक अरूको बिदाइ भएको पोष्टर भने आउँदैनन्। 

यस्तो भिडमा कति आउँछन्, कति जान्छन् पत्तो पाउन मुस्किल हुन्छ। यस्तै खेलमा कतिपय झेल गर्नेहरू पनि सिड्नीमा भेटिन्छन्।

यस्तै कार्यक्रमका नाममा आएका केही विद्यार्थी भिसामा यतै बसेको समेत भेटिएका छन् कति फलफूल टिप्न कृषि फार्मतिर लागेका छन्। कतिपय कार्यक्रमहरू ठूला ठूला समाजिक ब्यानर र आकर्षक नारामा सम्पन्न गरे पनि अझैसम्म सयमा एकबाहेक उनान्सयले आम्दानी र खर्चको विवरण सार्वजनिक गर्दैनन्।

भाषा र कला, संस्कृति प्रवासी नेपालीका लागि महत्वपूर्ण पाटोका रूपमा चिनिदै गर्दा कलाकारको आगमन र चलचित्रको प्रदर्शनी आफैंमा गौरवका विषय पनि हुन् तर कलाकारिताका नाममा मुखुन्डो लगाएर बसेका केही पात्रहरूले कार्यक्रमका नाममा मानवतस्करीको धन्दा गर्न थालेपछि यतिखेर वास्तविक कलाकारहरूलाई पनि प्रवेशाज्ञाको संकट पर्न थालेको छ।

कार्यक्रमका नाममा गलत उद्देश्य वा आर्थिक प्रलोभनमा समाजलाई नै बदनाम गराउनेलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने सिड्नीका अध्यागमन एजेन्ट निरज श्रेष्ठ बताउँछन्।

हुन त सिड्नीमा राम्रा आयोजकहरू नभएका होइनन् तर दुई चार खराबले चार पाँच राम्रालाई ओझेलमा पार्न थालेका छन्।

पर्यटक भिसामा मानिस ल्याउने र विद्यार्थी बनाएर कानुनी रूप दिन काम धमाधम भइरहेको छ। कानुनी बाटोमा यो वैध भए पनि नैतिक रूपमा गलत क्रियाकलाप हो। 

अस्ट्रेलियन सरकारले दिएको सहुलियतलाई उपयोग गर्नु अलग विषय भए पनि एउटा कार्यक्रमको नाममा ल्याएर आर्थिक प्रलोभनमा अर्को उद्देश्य पूर्ति गर्ने काम गर्नु सरासर गलत भएको सिड्नीमा लामो समयदेखि बस्दै आएका गायक सुनिल कटुवालले बताए। 

उनले मेला र महोत्सवको नाममा मानव तस्करी गरेर पैसा कमाउने झेलले भोलिका दिनमा सच्चा कलाकारलाई अष्ट्रेलिया आउन गाह्रो पर्ने उनले बताए।


पछिल्लो समयमा फुड फेस्टिबलदेखि फिल्म फेस्टिबलसम्म अनि नाटकदेखि नौटंकीसम्म सबै समुदायको नाममा अस्ट्रेलिया कयौ भित्रिसके, यसको वास्तविकता कसैले खुलाएको छैन।

एकथरी नेपालका बदनाम एजुकेसन कन्सलटेन्सीको कमाइ धन्धा नै यस्तै कर्मबाट चलेको आरोप लाग्दै आएका छन्।

पछिल्ला दिनमा एक मिस नेपाल र वरिष्ठ राजनीतिज्ञले समेत अस्ट्रेलियाको भिसा नपाएपछि त्यसले ठूलै हल्लीखल्ली मच्चियो। 

यस्तो परिवेश बढ्दै गएको कार्यक्रम र घट्दै गएको लोकप्रियतालाई ध्यानमा राखेर यतिबेला केही आयोजकको बदमासी नियाल्नुपर्ने बेला आइसकेको छ। 

प्रवासमा आयोजना हुने मेला महोत्सव अनि कार्यक्रमहरू हाम्राका लागि नभइ राम्राको लागि हुनुपर्छ भन्ने हो। एउटा कार्यक्रमका नाममा आर्थिक चलखेलमा लागेर भिसा लगाउने र मानिस भित्र्याउने काम गरिन्छ भने त्यो बेइमानी र गैरकानुनी हो। यसले मुलुकको नाम समेत बदनाम हुने भएकाले कानुनी कठघरामा उभ्याउन नेपाली समाज बेलैमा सचेत हुनुपर्छ।