काठमाडौं : युरोपको सबै भन्दा ठुलो क्लब फुटबल प्रतियोगिता युईएफए च्याम्पियन्स लिगमा आज राति २ खेल हुदैछन् ।
स्पेनिस ला लिगा च्याम्पियन तथा यूईएफए च्याम्पियन्स लिगको सर्वाधिक सफल तथा १३औं पटको विजेता रियल मड्रिडले आज प्रिमियर लिग च्याम्पियन लिभरपुलको सामना गर्दैछ ।
नेपाली समय अनुसार दुई टोली बीचको खेल राति १२:४५ बजेबाट सुरु हुनेछ । उक्त खेल रियल मड्रिडको घरेलु मैदानमा हुनेछ । घरेलु टोली रियल पाहुना टोली लिभरपुलमाथि सहज जित निकाल्दै अघिल्लो चरण प्रवेशमा सम्भावना बलियो बनाउन चाहन्छ । तर पाहुना टोली पनि घरेलु टोलीमाथि दबाब दिदै जित निकाल्ने योजनामा रहेको छ । यी दुई टोली सन २०१७/१८ को च्याम्पियन्स लिगको फाइनलमा भिडेका थिए । जसमा रियल ३-१ गोलले विजयी हुँदै १३औं पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।
त्यस्तै अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बोरुसिया डर्टमुन्ड प्रतिस्पर्धामा छन् । उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सिटीको मैदानमा हुनेछ ।
यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै अघिल्लो चरणको बाटो सहज बनाउने दाउमा छन् । दोस्रो लेगको खेल भने १४ अप्रिलमा डर्टमुन्डको मैदानमा हुनेछ ।
यी दुई टोलीले २०१३–१४ को सिजनयता पहिलोपटक खेल्न लागेका हुन् । त्यसबेला सिटीले १–१ गोलको बराबरी खेलेको थियो भने सिग्नल इदु्ना पार्कमा १–० को जित निकालेको थियो ।
डर्टमुण्ड च्याम्पियन्स लिगका पछिल्ला खेलमा अपराजित छ । यसअघि जर्गेन क्लोपको नेतृत्वमा रहँदा २०१२ र १३ मा ऊ लामो समयसम्म ११ खेलमा अपराजित रहेको थियो ।
यता सिटीले भने च्याम्पियन्स लिगअन्तर्गत पछिल्ला पाँच क्वार्टरफाइनल खेलमध्ये चारमा हार ब्यहोरेको छ । पछिल्ला तीन सिजनयता पेप ग्वार्डीओला नेतृत्वको सिटी लगातार क्वार्टरफाइनल चरणबाटै आउट भएको छ