चैत २५, २०७७ बुधबार

तस्बिर - एन्फा

काठमाडौं : त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोर्ट्स क्लबमाथि ५-१ गोलको सानदार जित निकालेको हो ।

बुधबार दशरथ रंगशालामा सम्पन्न पहिलो चरणको एएफसी कप-२०२१ प्ले अफको खेलमा आर्मीले श्रीलंका पुलिस एससीमाथि ५–१ को प्रभावशाली जित निकालेको । खेलमा सरुवाती अग्रता भने श्रीलंका पुलिसले लिएको थियो ।

खेलको २७औं मिनटमा इभान्स असन्तेले गोल गर्दै आर्मी खेलमा पछि पर्न पुगेको थियो । तर आर्मीले पहिलो हाफ मै उत्कृष्ट पूनःरागमन गर्यो ।

खेलको ४०औं मिनटमा सन्तोष तामाङले गोल गरे ।त्यसको तीन मिनट लगतै नवयुग श्रेष्ठले हेड गोल गर्दै आर्मीलाई खेलमा २–१ को अग्रता दिलाए ।

पहिलो हाफसम्म २–१ को अग्रता बनाएको आर्मीका लागि दोस्रो हाफ शुरु भए लगतै ४९औं मिनटमा टंक बस्नेतले तेस्रो गोल थपे । दोस्रो हाफमा थप सुधारिएको प्रदर्शन गरेको आर्मीका लागि ८३औं मिनटमा सुदिल राईले चौथो गोल थपे भने अन्तिमतिर नवयुग श्रेष्ठले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै आर्मीको शानदार जित पक्का गरेका थिए ।

आर्मीले अब प्रारम्भिक छनौटतर्फ दोस्रो चरणको खेल १४ अप्रिलका दिन चर्चित भारतीय क्लब बैंगलुरु एफसीसँग खेल्नेछ । जुन खेल जित्न सफल भए आर्मी प्ले अफका लागि छनौट हुनेछ ।