चैत २५, २०७७ बुधबार

एजेन्सी : युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज साविक विजेता बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बीच रोमाञ्च भिडन्त हुदैछ ।  

नेपाली समयअनुसार आज राति १२ः४५ बजे सुरु हुनृ क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगको खेल बायर्नको घरेलु मैदानमा हुनेछ ।

आजको खेलमा घरेलु मैदानमा बायर्न जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । तर पाहुना टोली पिएसजीविरुद्ध बायर्न दबाबमा देखिएको छ ।

बायर्नका मुख्य स्ट्राइकर रोबर्टो लेवान्डोस्की चोटका कारण यस खेलमा हुनेछैनन् । यस्तै कोरोना सङ्क्रमण भएपछि सर्जी ग्नाब्रीसमेत टिममा छैनन् ।

यता, पीएसजीले भने यस खेलमा नेयमार, केलियन एमबाप्पे र एन्जल डी मारियालाई मुख्य हतियारका रूपमा मैदान उतार्नसक्ने सम्भावना छ ।

पिएसजी यस खेलमा बायर्नसँग बदला लिने दाउमा हुनेछ । गत सिजनको फाइनलमा बानर्यसँग १–० गोलले पराजित भएपछि पिएसजी च्याम्पियन्स लिगको उपाधि जित्नबाट बन्चित भएको थियो ।