चैत २६, २०७७ बिहिबार

एजेन्सी : युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा साविक विजेता बायर्न म्युनिखमाथि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रोमाञ्चक जित निकालेको छ । 

बिहिवार बिहान सम्पन्न क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा पिएसजीले बायर्नलाई उसैको मैदानमम ३–२ गोल अन्तरले पराजित गरेको हो ।

पाहुना टोली पिएसजीको जितमा किलियन एम्बाप्पेले २ गोल गर्दा मार्किन्होसले १ गोल गरे । त्यस्तै यता घरेलु टोली बायर्नका इरिक म्याक्सिम चौपो–मोटिङ र थोमस मुलरले समान १/१ गोल गरे ।

पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा थप १ गोल गर्दा १ गोल खान पुगेको थियो ।

उक्त जित सँगै पिएसजीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । त्यति मात्रै हैन पिएसजीले बायर्नसँग बदलासमेत लिएको छ । गत सिजनको फाइनलमा १-० गोलले पराजित भएपछि पिएसजी च्याम्पियन्स लिगको उपाधि जित्नबाट बन्चित भएको थियो ।

त्यस्तै पिएसजीले बायर्नको च्याम्पियन्स लिगमा अपराजित यात्रा तोडेको छ । बायर्नले च्याम्पियन्स लिगको पछिल्ला १९ खेलमा हार ब्यहोरेको थिएन ।