काठमाडौं : नेपाली फुटबल जगतमै पहिलोपटक हुन गईरहेको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) ले खुकुरीलाई मुख्य प्रायोजकको रुपमा पाएको छ ।
बिहीबार काठमाडौं स्थित होटल विवन्तमा भएको पत्रकार सम्मेलन कार्यक्रममा प्रायोजक र लिग आयोजकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
उक्त सम्झौतासँगै आगामी बैशाख ११ गतेदेखि शुरु हुने प्रतियोगिताको नाम ‘खुकुरी नेपाल सुपर लिग’ हुने भएको छ ।
त्यस्तै यस लिगमा सहभागिता जनाउने विभिन्न सात फ्रेन्चाईज टोलीहरुको पनि घोषणा गरिसकिएको छ । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लब रहेका छन् ।