१४ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)मा डिफेन्डिङ च्याम्पियन तथा पाच पटकको च्याम्पियन टोली मुम्बई ईण्डियन्सलाई २ विकेटले पराजित गरि रोयल च्यालेन्जर्स बेंगलोरले रोमान्चक विजयी प्राप्त गरेको छ। 
चेन्नईमा पहिले टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । मुम्बईका ओपनर क्रिस लिनले सर्वाधिक ४९ रनको योगदान दिए ।बेंगलोरका तीव्र गतिका बलर हर्षल पटेलले ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिए । डेब्यू खेल खेलेका काईल जामिसनले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । वासिन्टन सुन्दरको नाममा १ विकेट रह्यो ।
जवाफमा १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा उत्कृष्ट प्रदर्शन गरेका एवी डी भिलियर्सले ४८ रन बनाए । डी भिलियर्स अन्तिम ओभरको चौथो बलमा दुई रन लिनेक्रममा रन आउट हुन पुगेका थिए ।मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मार्को जानसेनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्या र ट्रेन्ट बोल्टले १-१ विकेट लिए ।
मुम्बईले दोस्रो खेलमा १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग खेल्दा बेंगलोरले भने आफ्नो दोस्रो खेल १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्ने छ ।