काठमाडौँ — अन्तरराष्ट्रिय बजारमा फेरि कच्चा तेलको भाउ बढेको छ । पछिल्ला केही दिनदेखि निरन्तर उकालो लागेको ब्रेन्ट र मुर्बान कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ । बिहीबार (साढे १२ बजे) ब्रेन्ट र मुर्बान कच्चा तेलको भाउ प्रतिब्यारेल १०१.५ डलर पुगेको छ । दुई साताअघि यी तेल प्रतिब्यारेल ९३ डलर हाराहारीमा कारोबार भएको थियो ।
त्यस्तै दुई साताअघि ८८ डलरसम्म झरेको डब्लूटीआई तेलको मूल्य बिहीबार (साढे १२ बजे) ९५.१ कायम भएको छ । तेलको मूल्य पुन: उकालो लागेसँगै २०२२ को अन्त्यसम्म ११० डलरभन्दा माथि रहन सक्ने अनुमान गर्न थालिएको छ । ट्रस्ट सेक्युरिटिज इनर्जी रिसर्चका म्यानेजिङ डाइरेक्टर नेल डिंगमनले याहू फाइनान्ससँगको लाइभमा भनेका छन् ‘एकातिर रसियन तेलमा प्रतिबन्ध जारी रहेको छ, अर्कोतिर कम्पनीहरूसँग तेलको वृद्धि क्षमता सीमित छ, जसले गर्दा तेलको मूल्य झर्न मुस्किल छ ।’