भदौ १०, २०७९ शुक्रबार

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी महिनाभित्र सेनामा १ लाख ३७ हजार सैन्य कर्मचारी थप गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

अहिले रुसमा १० लाखभन्दा बढी सैन्य कर्मचारी र करिब नौ लाख नागरिक कर्मचारीहरू छन्।

देशभर ठूलो नगद प्रोत्साहनसहित सैन्य भर्ती अभियान तीव्र बनेको बेला भ्लादिमिर पुटिनले उक्त आदेश जारी गरेका हुन्।

पश्चिमा अधिकारीहरूका अनुसार ६ महिनाअघि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि हालसम्म करिब ७० देखि ८० हजार सैनिक मारिएको वा घाइते भएका छन्।

ब्रिटेनको रक्षा मन्त्रालयले दुई साताअघि एक विज्ञप्तिमार्फत् थुप्रै रुसी क्षेत्रहरूमा स्थापना भइरहेका स्वयंसेवी बटालियनहरू सेनाको नयाँ विभागको अंश हुनसक्ने जनाएको थियो।

तर "युक्रेनविरुद्ध लडाइँका लागि आम मानिसको उत्साहको स्तर निकै कम" देखिनुलाई आवश्यक वा माग गरिएको सङ्ख्या अनुरूप सेना भर्ती गराउन गाह्रो हुने सङ्केतको रूपमा बुझिएको छ।

रुसले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गर्दा यो एक छोटो, निर्णायक सैन्य अभियान हुने बताएको थियो।