काठमाडाैँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पठाउन लागेको ठूलो रकेट स्पेस लन्च सिस्टम अन्तिम समयमा प्राविधिक समस्या देखिएपछि रोकेको छ ।
यस रकेटलाई नासाले बनाएको सबैभन्दा शक्तिशाली रकेट भनिएको छ । यो नासाको आर्टेमिस मिशनको एक हिस्सा हो, जसअन्तर्गत ५० वर्षपछि फेरि चन्द्रमामा मानिस पठाउने तयारी भइरहेको छ ।
यो रकेट अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समय अनुसार बिहान ८:३० बजे अन्तरिक्षमा जाने तयारी थियो । तर नासाले यसको इन्जिनमा समस्या आएको भन्दै अन्तिम समयमा यसको लन्च रोकेको छ । नासाले अहिले यसको समस्याको बारे अध्ययन भइरहेको र यसको लन्चको अर्को मिति छिट्टै सार्बजनिक गरिने बताएको छ ।
करिब १०० मिटर लामो एसएलएसको काम पृथ्वीबाट टाढा ओरियन नामको टेस्ट क्याप्सुल प्रक्षेपण गर्ने हो । यो चन्द्रमाको वरिपरि घुमेर र छ हप्ता पछि प्रशान्त महासागरमा फिर्ता आउने तालिका रहेको थियो ।
यो रकेटको पहिलो मिसन हो जसमा कुनै पनि अन्तरिक्ष यात्री सवार हुने छैन । तर यदि यो मिसन सफल भयो भने भविष्यमा अन्तरिक्ष यात्रीहरू पनि यो रकेटमार्फत मिसनमा जान सक्नेछन् । सबै कुरा ठीक भएमा सन् २०२४ देखि मानिसले फेरि चन्द्रमामा पाइला राख्न सक्ने बताइएको छ । -बीबीसी