काठमाडौँ । भारतीय अर्बपति गौतम अडानी ब्लुमबर्ग अर्बपति सूचीमा संसारकै तेस्रो धनी व्यक्ति बनेका छन् ।
उनको सम्पत्ति १३७ अर्ब डलर छ । टप १६ मा रहेका अरू सबै अर्बपतिको सम्पत्ति पछिल्लो समय घट्दा अडानीले १.१२ अर्ब डलर सम्पत्ति थपेका छन्।
अडानी अहिले एसियाकै धनी व्यक्ति हुन्। एसियामा संसारका झन्डै ६० प्रतिशत मानिस बसोबास गर्छन्। तर अहिलेसम्म कोही पनि संसारभरिका धनाढ्यको सूचीमा तेस्रो स्थानमा पुगेका थिएनन्। यसअघि एसियाका धनी व्यक्ति बनेका भारतका मुकेश अम्बानी र चीनका ज्याक मा कहिले पनि संसारका धनाढ्यको सूचीमा तेस्रो नम्बरसम्म पुग्न सकेका थिएनन्।
६० वर्षका अडानीले कोइलादेखि बन्दरगाहसम्मको व्यापार गर्छन्। उनी भारतमा बन्दरगाह र विमानस्थल सञ्चालन गर्ने सबैभन्दा ठूलो कम्पनीका मालिक हुन्।
उनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारूढ भारतीय जनता पार्टीसँग निकट सम्बन्ध छ। केही दिनअघि अडानीको कम्पनीले भारतको एनडिटिभीको बहुमत सेयर किन्ने बताएको थियो । मंगलबार सार्वजनिक भएको उक्त सूचीमा अडानी एलन मस्क र जेफ बेजोसभन्दा पछि रहेका छन् ।