काठमाडौँ — सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचेभको निधन भएको छ । रुसी अधिकारीहरूका अनुसार मस्कोस्थित अस्पतालमा ९१ वर्षीय गोर्भाचेभको मंगलबार निधन भएको हो ।
गोर्भाचेभ तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति हुन् । जसले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निभाएकासमेत थिए । तर उनले सोभियत युनियन ढल्नबाट बचाउन भने सकेनन् ।
सन् १९८५ मा तत्कालीन सोभियत सत्ता सम्हालेका गोर्भाचेभले सुधारका प्रयास गरेका थिए । उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको कम्युनिस्ट पार्टीका महासचिव थिए । सोभियत युनियनको पतनसँगै नै आधुनिक रुसको उदय भएको मानिन्छ ।
स्टालिनको शासनकालमा हुर्कंदै गरेका गोर्भाचेभले दोस्रो विश्वयुद्धको असरसमेत प्रत्यक्ष देखे । युद्धपछि मस्कोमा कानुनको पढाइ गरेका उनले कम्युनिस्ट पार्टीमा आफ्नो भविष्य खोजे । साम्यवादमा सुधारको आवश्यक रहेको बताउने गोर्भाचेभ खुलापन र परिवर्तनको पक्षपातीसमेत रहेको बताइन्छ । केही कम्युनिस्ट नेताले पश्चिमसँगको घनिष्ठ सम्बन्धकै कारण उनलाई अमेरिकाको एजेन्टसम्म भन्ने गर्थे ।