ताइवानी सेनाले आफ्नो हवाईक्षेत्रमा आइपुगेको अपरिचित नागरिक ड्रोन बिहीवार खसाएको छ ।
चीनले ताइवान जलसन्धिमा अगस्ट महिनामा सैन्य अभ्यास गरेपछि ताइवानमा धमाधम ड्रोनहरू आउन थालेको बताइन्छ ।
आफूहरूले तनाव नचर्काउने ताइवान सरकारको भनाइ छ । तर चिनियाँ ड्रोनहरू धमाधम चीन नजिकका टापु समूहहरूमा आउन थालेपछि ताइवान चिढिएको छ ।
ताइवानको नियन्त्रणमा रहेको किनमन टापुसमूह चीनको स्यामन र क्वान्चाउ शहर नजिक छन् । चिनियाँ ड्रोन लायन टापुको नियन्त्रित हवाईक्षेत्रमा बिहीवार मध्याह्न प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।
त्यहाँ रहेका सैनिकहरूले त्यसलाई धपाउनका लागि चेतावनी दिए पनि नटेरेकाले त्यसलाई गोली हानेर खसाइएको बताइएको छ । ड्रोनका अवशेष समुद्रमा खसेका थिए ।
मंगलवार पनि ताइवानले ड्रोनमाथि गोली चलाएको थियो । ताइवानकी राष्ट्रपति त्साई इङ–वनले चिनियाँ उत्तेजनात्मक कारवाहीका विरुद्ध कठोर उपाय अपनाउन सेनालाई आदेश दिएकी छन् ।
चीनको परराष्ट्र मन्त्रालयले ड्रोनका विषयमा ताइवानले गरेको गुनासो हल्ला गर्नुपर्ने विषय नभएको जनाएको छ ।