भदौ १७, २०७९ शुक्रबार

एक सर्वेक्षणले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई अहिलेसम्मकै खराब प्रधानमन्त्री भएका देखाएको छ । मार्केट अनुसन्धान कम्पनी इप्सोसद्वारा सन् २०१९ देखि २०२२ को अगस्टसम्म गरिएको अध्ययनले बेलायती नागरिक प्रधानमन्त्री जोनसनप्रति अहिलेसम्मका अरु प्रधानमन्त्रीभन्दा बढी असन्तुष्ट रहेको देखाएको हो ।

दोस्रो विश्वयुद्धपछि बेलायती प्रधानमन्त्रीको कार्यसम्पादनको बारेमा सोधिएका प्रश्नमा ४९ प्रतिशतले अहिलेका प्रधानमन्त्री बोरिस जोनसनको कामलाई खराब बताएका छन् । यस्तै, ४१ प्रतिशतले म्यारी थेरेसा र ३८ प्रतिशतले डेबिड क्यामरुनलाई खराब बताएका इप्सोसको प्रतिवेदनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।  

यस्तै बोरिस जोनसनका राजनीतिक गुरु विन्सटन चर्चिललाई ६२ प्रतिशत मानिसले असल बताएका छन् । इप्सोसका राजनीतिक अनुसन्धान प्रमुख किरन पेडले भन्नु भएको छ,( ‘विंस्टन चर्चिल प्रधानमन्त्रीको शीर्ष स्थानमा हुनुहुन्छ, त्यसपछि मार्गेट थ्याचरलाई मानिसले रुचाएको पाइयो ।’

इप्सोसको सर्वेक्षणमा सहभागी एक हजार एक सयमध्ये ३३ प्रतिशतले बोरिस जोनसनलाई राम्रो भनेका छन् । यस्तै प्रतिवेदनकाअनुसार टोनी ब्लेयरको कामलाई ३६ प्रतिशत र मार्गेरेट थ्याचरको कामलाई ४३ प्रतिशतले राम्रो भनेका सर्वेक्षणले देखाएको छ । प्रधानमन्त्री बोरिस जोनसनको कार्यकाल आउँदो हप्ता सकिदैछ ।