भदौ १८, २०७९ शनिबार

 म्यान्माको अदालतले अपदस्थ नेतृ आङ सान सू चीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार ३ वर्षको जेल सजाय सुनाएको छ।

यस निर्वाचनमा सू चीको पार्टीले अत्यधिक बहुमतको साथै विजय प्राप्त गरेको थियो। सू चीलाई ३ वर्ष कडा परिश्रम गर्नुपर्ने सजाय सुनाइएको छ।

नोबेल पुरस्कार विजेता ७७ वर्षीया सू चीको स्वास्थ्य हालसम्म राम्रै रहेको बताइएको छ। भ्रष्टाचार र अन्य आरोपमा बन्द अदालतले दोषी ठहर गरेपछि गत वर्षदेखि हिरासतमा रहेकी उनलाई पहिले नै १७ वर्षको जेल सजाय सुनाएको थियो।

राजधानी नइपिदवमा पत्रकारहरूलाई रोक लगाइएको छ। सू चीका वकिलहरूलाई प्रेससँग वार्ता गर्न पनि रोकिएको छ। सेनाले नोभेम्बर २०२० को चुनावमा व्यापक मतदाता जालसाजी भएको आरोप लगाएको थियो।

यस चुनावमा सू चीको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले व्यापक जित हासिल गरेको थियो। अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले मतदान धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताएका थिए।

तर सेनाले उक्त चुनावको नतिजा रद्द गरेको थियो। सो चुनावमा ११ लाखभन्दा बढी जालसाजीका घटना पत्ता लगाएको पनि सेनाले एकपक्षीय दाबी गरेको थियो। गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि म्यान्मा सङ्कटमा फसेको छ। देशको अधिकांश भूभागमा द्वन्द्व भइरहेको छ भने अर्थतन्त्रसमेत खुम्चिएको छ।