भदौ १८, २०७९ शनिबार

नयाँ दिल्ली : बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोले जनाएको छ । खेतमा काम गरिरहेका किसानको चट्याङ लागेर मृत्यु भएको हो।

राज्यको गया जिल्लामा तीन जना बालबालिकासहित पाँच जना तथा भोजपुर, औरङ्गबाद, जेहेनाबाद, कैमुर र रोहतास जिल्लामा १२ जनाले ज्यान गुमाएका अल इण्डिया रेडियोले जनाएको छ।

गत जुन र जुलाईमा बिहार राज्यमा चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो। प्रत्येक वर्ष वर्षायाममा चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ। 

आगामी पाँच दिनसम्म उत्तरपूर्वी भारत र बिहार, झारखण्ड तथा सिक्किमसहित पश्चिमबङ्गालको पहाडी क्षेत्र भीषण वर्षा हुने पूर्वानुमान मौसम विभागले गरेको छ। 

यसैबीच, बिहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएकाहरूका परिवारजनप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार लाख भारु राहतस्वरूप उपलब्ध गराइने घोषणा गरेका छन्। 

उनले प्रतिकूल मौसममा सतर्क रहन तथा विपद् व्यवस्थापन विभागले जारी गरेका सुझाव पालना गर्न सर्वसाधारणलाई आग्रह गरे।