भदौ २१, २०७९ मंगलबार

\अफगानिस्तानको राजधानी काबुलस्थित रूसी दूतावासबाहिर सोमबार आत्मघाती बम विस्फोट भएको छ।

उक्त विस्फोटमा परी दूतावासका दुई कर्मचारी र एक सर्वसाधारणको मृत्यु भएको र  ८ देखि १० जना घाइते भएको रूसी सरकारी समाचार संस्थाले जनाएको छ।

आक्रमणकारी आफैँले विष्फोट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्ने स्पष्ट हुन सकेको छैन।

रूसी नोभोस्ती समाचार संस्था, आरआईएका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि उम्मेदवारको नाम लिन दूतावासबाहिर पर्खिरहेका मानिसहरूसामु बाहिर निस्केपछि विस्फोट भएको थियो। मस्कोको विदेश मन्त्रालयलाई उद्धृत गर्दै एजेन्सीले दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको जनाएको छ। काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जादरानले विस्फोटमा एक आत्मघाती आक्रमणकारीको संलग्नता रहेको बताए।

उनले दूतावासबाहिर कुरेर बसेको आक्रमणकारीको भीडको नजिक पुग्नुअघि नै पहिचान सुरक्षाकर्मीले गरेको जानकारी दिए।

तालिवानले सत्ता कब्जा गरेको एक वर्ष यता भएको यो पछिल्लो विस्फोटको जिम्मेवारी तत्काल कसैले लिएको छैन। गत वर्ष अमेरिका र नेटोका सेना फिर्ता हुने अन्तिम चरणमा पुगेका बेला पूर्व विद्रोहीले देश कब्जा गरेयता इस्लामिक स्टेट समूहको स्थानीय सहयोगी समूहले तालिवान र सर्वसाधारणविरुद्ध आक्रमणलाई तीव्र बनाएको छ।