काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको आयल प्राइस डटकमले बताएको छ । मूल्य घटेर ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ९३.७६ अमेरिकी डलरमा आइपुगेको छ ।
यस्तै, डब्लूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७.६९ अमेरिकी डलर कायम भएको छ । यो पछिल्लो ७ महिना यताकै न्यून बिन्दु हो । यसअघि, १ महिनाअघि कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ९४ डलरसम्म आइपुगेको थियो । जुन, फेरि बढेर प्रति ब्यारेल १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको थियो ।
३ महिनामा २६ प्रतिशत घट्यो तेलको भाउ
अन्तरराष्ट्रिय बजारमा पछिल्लो ३ महिनामा कच्चा तेलको मूल्य २६ प्रतिशतले घटेको छ । जुन महिनामा प्रति ब्यारेल १२५ अमेरिकी डलर रहेको कच्चा तेलको मूल्य अहिले ९३ डलर प्रति ब्यारेलमा आइपुगेको छ । यसअनुसार ३ महिनाको अवधिमा कच्चा तेलको भाउ २६ प्रतिशतसम्म गिरावट आएको हो ।