भदौ २४, २०७९ शुक्रबार

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। उनी ७० वर्षसम्म गद्दीमा आसीन थिइन्।


महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् ।

उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन्।

राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भनेः "हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौँ। मलाई थाहा छ उनको अभाव देशभरी नै अनुभव गरिने छ र राष्ट्रमण्डलका देशहरूमा पनि। साथै संसारभरीका अनगिन्ती मानिसहरूले पनि उनको अभाव महसुस गर्नेछन्।"

उनले भनेका छन् शोक र परिवर्तको अवधिमा उनी र उनको परिवारलाई " महारानीलाई मानिसहरूले सम्मान व्यक्त गर्ने र गहीरो प्रेम गर्ने गरेको भन्ने जानकारी"ले सान्त्वना प्रदान गर्नेछ।

एउटा विज्ञप्ति जारी गर्दै बकिङ्गम दरबारले भनेको छ, ''आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ। राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन्।''


महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहाँ थिए भने अर्का नाति राजकुमार ह्यारी बाटोमा नै रहेका थिए।

प्रधानमन्त्री
महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा ब्रिटेनमा १५ जना प्रधानमन्त्री भए, सन् १८७४ मा जन्मेका विन्स्टन चर्चील देखि लिएर त्यसको १०१ वर्ष पछि सन् १९७५ मा जन्मेकी हालकी प्रधानमन्त्री लिज ट्रससम्म।

महारानीको जन्म सन् १९२६ को २१ एप्रीलमा लण्डनको मेफएरमा एलिजाबेथ एलेक्जान्ड्रा मेरी विन्डसरका रूपमा भएको थियो।

उनी ब्रिटेनको महारानी बन्लिन् भनेर कसैले पनि अनुमान गरेका थिएनन् तर सन् १९३६ मा उनको ठूलो बुवा एडवर्ड अष्टम्‌ले दुईपटक पूर्वपतिहरूसँग छोडपत्र गरेकी अमेरिकी महिला वालिस सिम्पसनसँग विवाह गर्न राजगद्दी त्यागे। त्यसपछि उनका पिता राजा जोर्ज छैठौँ बनेपछि १० वर्षको उमेरमा नै परिवारभित्र लिलिबेट भनेर मायालु नामले बोलाइने उनी राजगद्दीको उत्तराधिकारी बन्न पुगेकी थिइन्।