भदौ २८, २०७९ मंगलबार

काठमाडौँ । सोमबार राति विद्युतीय स्कुटरको शोरुममा आगलागी भएको छ । भारतको तेलंगानाको सिकन्दराबादमा उक्त घटना भएको हो । 

विद्युतीय स्कुटर चार्ज गर्ने क्रममा उक्त घटना भएको बताइएको छ । आगलागीमा परी अहिलेसम्म आठ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्याहरुले उल्लेख गरेका छन् । प्रारम्भिक अनुसन्धानबाट सर्ट सर्किटका कारण दुर्घटना भएको खुलेको छ ।

आगलागीका कारण पहिलो र दोस्रो तल्लामा धुवाँको मुस्लो भरिएको थियो जसका कारण मानिसहरु निसास्सिएको प्रहरीले बताएको छ । केही मानिसहरूले भवनबाट हाम फालेर आफ्नो ज्यान बचाएका थिए । घटनास्थलमा पुगेको प्रहरीको टोलीले भवनबाट धेरैलाई बाहिर निकालेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।