कोइला, सुन तथा कच्चा फलामसहितका सामग्रीका लागि औद्योगिक स्तरमा भएको उत्खननले उष्ण प्रदेशीय जंगल फडानीलाई बढावा दिएको नयाँ अध्ययनले देखाएको छ।
कुनै समय छिचोल्न मुस्किल पर्ने जंगल अहिले उत्खनन र त्यसका लागि चाहिने बाटोका लागि फडानी भएको अध्ययनमा उल्लेख छ ।
औद्योगिकस्तरको खानी उत्खननले उष्णप्रदेशीय जंगल फडानीमा परेको प्रभावबारे भएको पहिलो अध्ययनले ब्राजिल, इन्डोनेसिया, घाना र सुरिनाममा समस्या गम्भीर बनेको जनाएको छ।
अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको समूहले गरेको अध्ययनले यी चार देशमा औद्योगिकस्तरको खानी उत्खनन र वन फडानीबीचको सम्बन्ध गम्भीर बनेको देखाएको हो।
सोमबार प्रकाशित भएको अध्ययनअनुसार उष्ण प्रदेशीय जंगलका धनी यी चार देश सन् २००० देखि २०१९ सम्म औद्योगिकस्तरको खानी उत्खननका कारण भएको वन विनाशका लागि करिब ८० प्रतिशत जिम्मेवार रहेका छन्।
अध्ययन प्रतिवेदन द जर्नल प्रासीडिङ्गस् अफ द नेशनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित भएको छ।
कुल वन फडानीमध्ये कृषिका लागि चाहिने जमिन बनाउन हुने फडानीको आँकडा कम्तीमा ७० प्रतिशत रहेको छ।
तर, जलवायु परिवर्तनसँग जुध्नका लागि मुख्य आधार मानिएको स्वच्छ ऊर्जा बनाउन चाहिने खनिजका लागि औद्योगिकस्तरको उत्खनन बढ्दा वन फडानी पनि बढेको हो। यसलाई लिएर वैज्ञानिक चिन्तित छन्।