काठमाडौँ । नेपालमा बच्चा चोरहरू गाउँगाउँमा आएको अफवाह फैलिरहेका बेला छिमेकी भारतमा पनि त्यस्तै अफवाहका कारण चार जना साधुहरू कुटिएका छन् ।
मंगलबार महाराष्ट्रको सांगली जिल्लामा उत्तर प्रदेशबाट गएका चार जना साधुहरूलाई बच्चा चोरको आरोपमा भीडले कुटपिट गरेको एनडिटिभीले जनाएको छ ।
ती साधुहरूले एक जना बच्चालाई पन्धानपुर जाने बाटो सोधेका थिए। केही समयपछि स्थानीयले एउटा पसलको अगाडि उनीहरूलाई लठ्ठीले हानेका थिए।
उक्त घटनाको भिडिओ अहिले भाइरल भएको छ।
प्रहरीले घटनाबारे औपचारिक उजुरी नआएको भए पनि भिडिओको अनुसन्धान सुरू भएको बताएको छ।
यता नेपाल प्रहरीले भने अहिलेसम्म बच्चा चोरीको घटना कहीँ पनि नभएको भन्दै अफवाह फैलाउनेलाई कानुनअनुसार कारबाही गर्ने बताएको छ।