भदौ ३०, २०७९ बिहिबार

भारतले तीन सैनिक सेवा (स्थल, जल र वायु) मा नयाँ भर्नाका लागि ल्याएको नयाँ स्किम  ‘अग्निपथ’ योजनाअनुसार नेपालीहरू भारतीय सेनामा भर्ती नभए यसपालि उनीहरूलाई छुट्ट्याएको कोटा अरूलाई दिने छिमेकी भारतका सेना प्रमुख मनोज पाण्डेले बताएका छन् । 

बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सोधिएको प्रश्नको जवाफमा पाण्डेले नेपालीका लागि छुट्ट्याइएको कोटा अरूलाई बाँडिने बताएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

‘मलाई मंसिर ४ को आमनिर्वाचन अघि नेपालले कुनै निर्णय गर्छजस्तो लाग्दैन,’ केही दिनअघि काठमाडौंमा नेपाली सेनाको मानार्थ महारथीको पदवी लिएका पाण्डेले भने,‘ त्यसपछि पनि उनीहरूले निर्णय गरेनन् भने त्यो कोटा अरूलाई दिइन्छ।’


यसअघि सरकारले भदौ ८ मा सरकारले अग्निपथबारे स्पष्ट पार्न भारतलाई भनेको थियो।


परराष्ट्र मन्त्री नारायण खड्काले काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई  मन्त्रालयमा बोलाएर अग्निपथबारे स्पष्ट नभएकाले तत्काल नेपाली भर्ती नहुने बताएका थिए।

अग्निपथबारे स्पष्टता नभएको भन्दै नेपालले यसपालि भारतीय सेनामा हुने भर्तीको छनोट प्रक्रिया नै रोकेको छ।