कराची: पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा हालसम्म ३ करोड ३० लाख नागरिक प्रभावित भएका छन्। हजारौँ घर बाढीले बगाएको र लाखौँ नागरिक घरविहीन भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा र पञ्जाव प्रान्तमा पनि बाढीले असर गरेको छ। सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिलगित र बाल्टिस्तान क्षेत्र बाढीको चपेटामा परेका छन्।
बितेको २४ घन्टा यतामात्र पाँचजनाले बाढीबाट ज्यान गुमाएका छन्। साथै बाढीमा परेर अरू कैयौँ व्यक्ति घाइते भएका बताइएको छ। बितेका दुई महिनामा यहाँका एक हजार ४८६ को बाढीबाट ज्यान गएको बताइएको छ।
त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण ९एनडिएमए० ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका बुधबार प्रकाशन गरेको एक तथ्यांक सार्वजनिक गरेको छ।
पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा २४ घन्टा यतामात्र वर्षा र बाढीबाट तीनजनाको मृत्यु, भएको छ। त्यसैगरी खैबर पख्तुन्ख्वा प्रान्तमा यस प्रकोपको कारण दुई व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ।
बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीले जनाएका छन्। बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ।