असोज ४, २०७९ मंगलबार

युक्रेनी सेना स्वघोषित लुगान्स्क जनगणतन्त्रको बिलोहोरिव्का गाउँ नियन्त्रणमा लिन फिल भएको छ । 

यसको अर्थ हुन्छ– रुसले सम्पूर्ण लुगान्स्क क्षेत्रमाथिको नियन्त्रण गुमाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले लुगान्स्क र डोनेत्स्कलाई युक्रेनी शासनबाट मुक्त गर्ने यो युद्धको एक लक्ष्यका रूपमा प्रस्तुत गरेका थिए । 

लुगान्स्कका गभर्नर सर्ही हाइदाइले युक्रेनी सैनिकहरू बिलोहोरिव्कालाई पूर्ण नियन्त्रणमा लिन सफल भएको बताए । लिसिचान्स्कको बाहिरी किनारामा रहेको गाउँबाट रुसीहरूलाई भगाइने उनको भनाइ छ । 

टेलिग्राम च्यानलमा आएका भिडियोहरूमा युक्रेनी सैनिकहरूले ध्वस्त भएको सडकमा गश्ती गरिरहेको देखिन्छ । 

रुसी सैनिकहरूले विगत साढे दुई महिनादेखि पूरै लुगान्स्क क्षेत्रमा कब्जा गरेका थिए । निकै लामो र कठिन लडाइँपछि युक्रेनी सैनिकहरू जुलाई महिनामा सेभेरोडोनेत्स्क र लिसिचान्स्क शहरबाट पलायन भएका थिए । 

विगत १३ दिनमा युक्रेनी सैनिकहरूले प्रत्याक्रमण गर्दै खार्किभ क्षेत्रमा ३०० वटा बस्तीलाई मुक्त गरिसकेका छन् । मुक्त गरिएको क्षेत्र रुसी सीमासम्मै पुग्छ ।