जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन् । सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ ।
जिल्लाका सातै पालिकामाका साथै छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिममा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । विद्युत् नहुँदा जिल्लाका रेडियोहरू समेत बन्द भएका छन् । वर्षा निरन्तर भइरहेकाले विद्युत्, सञ्चार सबै सेवा ठप्प भएको छ ।
ग्रामीण सडकसमेत पूर्ण रुपमा ठप्प भएका छन् । जाजरकोट–डोल्पा सडक खण्डको खलङ्गादेखि नलगाड दल्लीसम्म मात्र यातायात सेवा सञ्चालन भएका छन् । नलगाड बारेकोट सडकसमेत ठाउँठाउँमा भत्किएका कारण यातायात सेवा अवरुद्ध भएको हो ।
पश्चिम जाजरकोट, रुकुम पश्चिमका ग्रामीण सडकसमेत अवरुद्ध भएको बताएको छ । विद्युत् सेवा मर्मत गर्नका लागि पानी निरन्तर परेका कारण समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । मनोनयन दर्ताका दिन नेताहरूसँग सम्पर्क नहुँदा कार्यकर्ता हैरान भएका छन् ।