असोज २८, २०७९ शुक्रबार

राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा शुक्रबार पत्रकारहरूले धर्ना दिएका छन् । त्यहाँ कार्यरत २२ जना श्रमजीवी पत्रकारको रोजगारी खोस्न लागेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघलगायत  पेशागत  संघसंगठनले शुक्रबार धर्ना दिएका हुन् ।

पत्रकारलाई निष्कासन नै गर्नेगरी श्रमजीवी पत्रकारविरुद्ध रासस व्यवस्थापनले कदम चालेपछि राससका अस्थायी/ करार/ ज्यालादारी पत्रकार संघर्ष समितिको आयोजना तथा नेपाल पत्रकार महासंघलगायत पेशागत संघ संगठनका प्रतिनिधिहरूको सहभागितामा राससमा धर्ना दिइएको हो ।

धर्नापछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकारविरुद्धका कदम तत्काल सच्चाउन रासस व्यवस्थापनलाई चेतावनी दिए ।  महासचिव पुरीले महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले नै श्रमजीवी पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल २२ जना पत्रकारको नवीकरण गर्न माग गरे ।

श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले नियत खराब राखेर व्यवस्थापन पक्षले श्रमजीवी पत्रकारलाई हटाउन खोजेको स्पष्ट नियत देखिएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले महासंघको पूर्वअध्यक्ष झा व्यवस्थापन प्रमुख हुँदैमा आन्दोलनमा महासंघको साथ सहयोग नरहने अवस्था नहुने भन्दै महासंघले ती २२ जना पत्रकारको रोजगारी खोस्न नदिने बताए । 

नेपाल पत्रकार महासंघ अगुवाइमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, श्रमजीवी पत्रकार संघलगायत पत्रकारका पेशागत संगठनको सहभागितामा रासस केन्द्रीय कार्यालयमा शुक्रवार दिउँसो १ देखि ३ बजेसम्म धर्ना कार्यक्रम गरिएको थियो । राससका अस्थायी/करार/ज्यालादारी पत्रकारलाई रासस व्यवस्थापन पक्षले हटाउन थालेपछि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।