कात्तिक २, २०७९ बुधबार

विराटनगर । मिडिया एक्सन नेपालले मंगलबार प्रदेश नं १ को विराटनगरमा प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।  प्रदेशस्तरीय कार्यशालाका सहजकर्ताहरूले पत्रकारितालाई मर्यादित र स्वच्छ बनाउँदै पत्रकारहरूले निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा पत्रकारहरूलाई निस्पक्ष रिपोर्टिङ तथा दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथामका विषयमा अभिमुखीकरण गरिएको हो । प्रशिक्षकहरूले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा निष्पक्ष भएर समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्न सुझाएका छन् । उनीहरूले घृणायुक्त अभिव्यक्ति र दुष्प्रचारबाट बच्नुपर्नेमा जोड दिइएका छन् ।

मिडिया एक्सन नेपालका अध्यक्ष एवं सञ्चारविज्ञ लक्ष्मणदत्त पन्तले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने भन्दै निर्वाचनका बेला पत्रकारले चनाखो भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए । उनी भन्छन्– “पत्रकारले अड्कलबाजी गरेर उम्मेदवारको पक्षपोषण गर्नु पत्रकार आचारसंहिताविपरीत हो ।” 

कार्यक्रममा प्रशिक्षक प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झविन्द्र भुसालले निर्वाचनको समयमा पत्रकार आचारसंहितासँगै निर्वाचन आचारसंहितालाई पनि गम्भिरतापूर्वक पालना गर्नु पत्रकारहरूको कर्तव्य भएको उल्लेख गरे । उनले काउन्सिलले सबै सञ्चारमाध्यमको अनुगमन गरिरहेकाले जिम्मेवार बनेर समाचार सम्प्रेषण गर्न आग्रह गरे । उनले पत्रकारले भ्रामक समाचार लेख्न नहुने धारणा व्यक्त गरे ।

त्यस्तै मानव अधिकारविज्ञ यामबहादुर दुराले निर्वाचनको तीन वटा चरण अन्र्तगत निर्वाचनअघि, निर्वाचनको दौरान र निर्वाचनपश्चात् गरिने समाचार सम्प्रेषणमा सचेत हुनुपर्ने बताए । उनले निर्वाचन र मानव अधिकार सँगसँगै जोडिने भएकाले त्यस अवस्थामा समाचार संकलन गर्दा हरेक विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

आयोजक मिडिया एक्सन नेपालकी उपाध्यक्ष प्रिंयका झाले निर्वाचनका सिद्धान्तहरू भनेको नै निष्पक्ष, स्वतन्त्र, त्रासरहित र सबैको पहुँचमा निर्वाचन हुनुपर्ने भएको हुँदा कोही पनि छुट्नु नहुने बताएकी छिन् । उनले महिलालाई यस्तो अवस्थामा गलत अफवाह फैल्याएर निरुत्साहित बनाउन सक्ने भएकाले सञ्चार माध्यम लैङ्गिक सवालका विषयमा सचेत बन्नु पर्ने बताइन् । उनले अपाङ्ग, गर्वभती महिला, ज्येष्ठ नागरिकलगायतका सवाललाई पनि सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।


प्रदेश नं १ का झापा, मोरङ र सुनसरीका पत्रकारको सहभागिता रहेको  थियो । मिडिया एक्सन नेपालले आयोजना गरेको प्रशिक्षणले निर्वाचनका समयमा उठान गर्नुपर्ने सवाल र स्रोताको भरपर्दा पर्न सक्ने प्रभावका विषयमा ज्ञान लिने अवसर प्राप्त भएको प्रशिक्षार्थी बिनु तिम्सिनाले बताइन् । उनले निर्वाचनको समयमा पत्रकार उम्मेद्वारको मात्रै पछि कुद्ने प्रवृत्तिले समाजका धेरै सवालहरू ओझेलमा पर्ने गरेको प्रशिक्षणपश्चात् थाहा पाएको उल्लेख गरिन् ।