कात्तिक २, २०७९ बुधबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्रको जग्गा हिनामिना गरेको आरोपमा  ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महेन्द्रनगर नगर विकास समितिका ३ जना तत्कालीन अध्यक्षसहित ३७ जनाविरुद्ध बुधवार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

आयोगले २०७९ वैशाखमा ११ मा पनि सो जग्गा हिनामिना गरेको आरोपमा ६४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । महेन्द्रनगर बजार क्षेत्रको ६३८ बिगाहामध्ये ५७३ विगाहा जग्गा हिनामिना भएकोबारे अख्तियारले लामो समयदेखि छानबिन गरिरहेको थियो ।

सरकारले २०३५ सालमा नगर विकास समितिलाई सो जग्गा व्यवस्थापन गर्न दिए पनि नगर विकास समितिका अध्यक्ष र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा अतिक्रण गरिएको आयोगको ठहर छ । आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू गोपाल रसाइली, पल्टु राना, पुष्कल चौधरी र सदस्य–सचिव चन्द्रप्रसाद चौधरीसहित ३७ जनालाई विपक्षी बनाएको छ ।

आरोपीहरूले सरकारी जग्गा बोर्ड बैठकको निर्णय बिना एकल तोक आदेशको भरमा व्यक्तिको नाममा उपलब्ध गराएको आयोगको ठहर छ ।